“गुणस्तरीय ऋण लगानी, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासन” सम्बन्धि १ दिने तालिम सम्पन्न”

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

सुर्खेत, २५ जेठ २०८३ वीरेन्द्रनगर नगरपालिका– ३ स्थित टाकोमा रेष्टुरेण्टमा जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा “गुणस्तरीय ऋण लगानी, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासन” विषयक एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य हरिहरनाथ योगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमोद कुमार घिमिरे विशेष अतिथि रहनुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य धर्मा सुवेदीले व्यक्त गर्नुभएको थियो। कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिद्वारा दीप प्रज्वलन तथा राष्ट्रिय गानबाट गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हरिहरनाथ योगीले सहकारी संस्थाको दिगो विकासका लागि सदस्य, कर्मचारी तथा नेतृत्व तह संस्थाप्रति प्रतिबद्ध र उत्तरदायी हुनुपर्ने बताउनुभयो। उहाँले संस्थासँग भावनात्मक सम्बन्ध र अपनत्वको भावना विकास गर्न सके मात्र तालिम तथा अनुभवबाट प्राप्त ज्ञान व्यवहारमा रूपान्तरण हुने धारणा व्यक्त गर्नुभयो। सकारात्मक सोच, संस्थाप्रतिको समर्पण र जिम्मेवारीबोधले संस्थागत सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो।

तालिमको पहिलो सत्रमा प्रमुख प्रशिक्षक प्रमोद कुमार घिमिरेले गुणस्तरीय ऋण लगानी, जोखिम व्यवस्थापन, ऋण असुली तथा कानुनी प्रक्रियासम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले वित्तीय निर्णय गर्दा व्यक्तिको मानसिक अवस्था सन्तुलित हुनुपर्ने उल्लेख गर्दै HALT अर्थात Hungry, Angry, Lonely and Tired काे अवस्थाहरूमा महत्वपूर्ण निर्णय लिन नहुने सुझाव दिनुभयो। ऋण प्रवाहमा जोखिम न्यूनीकरण, प्रभावकारी अनुगमन तथा असुली व्यवस्थापनका विषयमा समेत उहाँले विस्तृत जानकारी गराउनुभएको थियो।

दोस्रो सत्रमा एसओएस हर्मन माइनर विद्यालयका प्रधानाध्यापक हरिहर बस्नेतले नेतृत्व विकास तथा संस्थागत सुशासनसम्बन्धी प्रशिक्षण सञ्चालन गर्नुभयो। उहाँले नेतृत्व र सुशासनबीचको अन्तरसम्बन्ध स्पष्ट पार्दै सुशासनका ५ आधारभूत पक्षहरू ( 5 pillars of good governance) Leadership, Accountability, Stewardship, Transparency र Integrity का विषयमा प्रकाश पार्नुभयो। संस्थागत सफलता, उत्तरदायित्व र पारदर्शिता कायम गर्न यी पक्षहरूको प्रभावकारी अभ्यास आवश्यक रहेको उहाँले बताउनुभयो।

तेस्रो सत्रमा वीरेन्द्ननगर नगरपालिका सहकारी विभाग प्रमुख दिपेन सुवेदिले सहकारी ऐन, नियमावली तथा नियामकीय मापदण्डसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले सहकारीको अवधारणा, नेपालमा सहकारिता आन्दोलनको विकासक्रम तथा वर्तमान अवस्थाबारे जानकारी गराउँदै आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा ३२ हजार ९ सय ६५ सहकारी संस्था सञ्चालनमा रहेको, १ करोड ९ लाख ५ हजार १ सय ९२ सदस्य आबद्ध रहेको तथा सहकारी क्षेत्रले ९० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको तथ्य प्रस्तुत गर्नुभयो। साथै सहकारी क्षेत्रको नियमन, प्रवर्द्धन तथा प्रशिक्षणका लागि राज्यद्वारा गरिएको संस्थागत व्यवस्थाबारे समेत जानकारी दिनुभयो।

तालिमको चौथो तथा अन्तिम सत्रमा प्रमुख प्रशिक्षक प्रमोद कुमार घिमिरेले सकारात्मक सोच, तनाव व्यवस्थापन तथा समय व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले व्यक्तिगत तथा संस्थागत कार्यसम्पादनमा सकारात्मक सोच, समयको उचित व्यवस्थापन र तनाव नियन्त्रणको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

समापन कार्यक्रममा सह-व्यवस्थापक मित्रेन्द्रनाथ योगी, सञ्चालक सदस्य लक्ष्मी भुसाल तथा प्रमुख प्रशिक्षक प्रमोद कुमार घिमिरेले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो। कार्यक्रममा सहभागी सम्पूर्णलाई प्रशंसापत्र वितरण गरिएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष नवराज कंडेलले तालिममा उपस्थिति जनाउनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्राप्त ज्ञान, सीप र अनुभवलाई दैनिक कार्यसम्पादन तथा संस्थागत विकासमा प्रयोग गर्नुपर्ने बताउनुभयो। तालिमबाट प्राप्त सिकाइलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक सहयोगका लागि संस्था सधैँ तत्पर रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

संस्थाका सञ्चालक समिति तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव यामराज गिरीले गर्नुभएको थियो ।

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

पछिल्ला सूचना/समाचार