जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुर्खेतको २७ औं स्थापना दिवस वीरेन्द्रनगर–४, कालागाउँस्थित संस्थाको आफ्नै प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष श्री नवराज कँडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष सूर्यनाथ योगी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने वीरेन्द्रनगर–४ का वडा अध्यक्ष शेरबहादुर के.सी. विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै छिमेकी सहकारी संस्था पिपलबोट र स्वावलम्बी साकोसको समेत सहभागिता रहेको थियो।
स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सूर्यनाथ योगीले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भ भएको बताउनुभयो। उहाँले नेपालको संविधान २०७२ ले अवलम्बन गरेको तीन खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई एक महत्वपूर्ण खम्बाको रूपमा परिभाषित गरिएको उल्लेख गर्नुभयो। सहकारी क्षेत्रले रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा आर्थिक गतिविधि चलायमान बनाउन अग्रणी भूमिका खेलेको उहाँको भनाइ थियो। हाल देशभर करिब ३२ हजार हाराहारीमा सहकारी संस्थाहरू क्रियाशील रहेको जानकारी पनि उहाँले दिनुभयो।
२७ औं स्थापना दिवसको अवसरमा संस्थाद्वारा सञ्चालनमा रहेका विभिन्न बचत, शेयर तथा ऋण शीर्षक अन्तर्गत उत्कृष्ट सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
बचततर्फ सर्वाधिक मासिकमा जगत कुमारी मण्डल, सर्वाधिक दैनिकमा यमराज चौधरी, सर्वाधिक स्वैच्छिकमा रामप्रसाद आचार्य, सर्वाधिक बाल बचतमा एसना रामदाम, सर्वाधिक गृहिणी बचतमा पूर्णा खड्का, सर्वाधिक आवधिकमा ज्ञानेन्द्र कुमार गिरी तथा सर्वाधिक शेयर खरिदतर्फ विमला गिरी पुरस्कृत हुनुभएको थियो।
त्यस्तै ऋणतर्फ उत्कृष्ट ऋणीको रूपमा ज्ञानेन्द्र विश्वकर्मा, व्यापार व्यवसायतर्फ चन्द्रा गौतम, सेवा व्यवसायतर्फ पूर्ण कँवर तथा कृषि तथा पशुपालनतर्फ नन्दलाल अधिकारी सम्मानित हुनुभएको थियो। संस्थापक सदस्यका रूपमा मानबहादुर रोकाय, जेष्ठ सदस्यका रूपमा श्यामकृष्ण अधिकारी र उत्कृष्ट कर्मचारीका रूपमा संस्थामा कार्यरत ऋण प्रमुख मिलन भेदीलाई सम्मान गरिएको थियो।
यसैगरी संस्थाका बाल सदस्यहरूमध्ये शैक्षिक उपलब्धिका आधारमा एस.ई.ई. तर्फ छात्र दीपेन्द्र आचार्य (कालीदेवी मावि, काभ्रेस्थल) र छात्रा अन्सु थापा (शिव मावि, लाटिकोइली) तथा कक्षा १२ तर्फ छात्र सन्देश रिजाल (उषा बालबाटिका) र छात्रा दीपिका सुवेदीलाई नगदसहित पुरस्कृत गरिएको थियो। अन्य बाल सदस्यहरूलाई पनि जिपिएको आधारमा प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा ७० वर्ष उमेर पूरा गर्नुभएका ज्येष्ठ सदस्यहरूलाई हरलिक्स प्रदान गरी सम्मान गरिएको थियो।
संस्थाका सचिव यमराज गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राधा कार्कीले व्यक्त गर्नुभएको थियो।