सहकारीले घर-घरमा रोजगारी सिर्जना गरेकाे छ – केन्द्रीय सदस्य याेगी

सुर्खेत। राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले सहकारीले घर आँगन नजिकैबाट वित्तीय सेवा प्रवाह गरेर घर–घरमा रोजगारी सिर्जना गरिरहेकाे बताउनुभएकाे छ । सहकारीले गाउँ घरमा नै राेजगारी शुरु गर्नु आजको आवश्यकता भएको बताउँदै केन्द्रीय सदस्य याेगीले पछिल्लाे समय मानिसमा बचत गर्ने बानीकाे विकास हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयाे ।
सहकारीले आर्थिक मात्र होइन, सामाजिक सशक्तीकरणको माध्यमको रूपमा समेत काम गरिरहेको उल्लेख गर्दै उहाँले विशेष गरी महिला, दलित, जनजाति लगायत पछाडि परेका वर्गलाई सहकारीले मुख्यधारमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
जनहितकारी सहकारीका संस्थापक अध्यक्ष समेत रहनुभएकाे याेगीले संस्थाको पारदर्शी व्यवस्थापन, नियमित सेवा प्रवाह र जिम्मेवारीपूर्ण कार्यशैलीका कारण जनहितकारी सहकारीले आजसम्म ११ हजार सदस्य विस्तार गरेर जनतामा विश्वास जित्दै कुनै गम्भीर समस्या वा दुर्घटना व्यहोर्नु नपरेको जानकारी दिनुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा जनहितकारी सहकारीका अध्यक्ष नवराज कंडेलले आ.व. २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८२/८३ का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै सहकारीले प्रविधिमैत्री सेवा विस्तार, सदस्य सेवा सुधार, सामाजिक उत्तरदायित्व र सहयोगमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो।
यसैगरी कार्यक्रममा कोषाध्यक्ष सञ्जय योगीले आ.व. २०८१/८२ को वित्तीय प्रतिवेदन तथा आ.व. २०८२/८३ को प्रस्तावित वार्षिक बजेट प्रस्तुत गर्नुभएकाे थियाे । कोषाध्यक्ष योगीले आ.व. २०८१/०८२ मा सदस्यलाई ऋण लगानीबाट र बैक तथा वित्तीय संस्थाबाट प्राप्त व्याज आम्दानी रु. ९ करोड १२ लाख ६९ हजार ९ सय २८ रुपैयाँ पैसा २९ प्राप्त भएको र अन्य आम्दानी रु. ७३ लाख ६ हजार ५ सय २९ रुपैयाँ ७५ पैसा गरी कुल रु. १० करोड ६५ लाख ७६ हजार ४ सय ५७ रुपैयाँ ७५ पैसा भएकाे जानकारी दिनुभयाे ।
यसैगरी यस आ.व. २०८१/०८२ को कुल खर्च रु १० करोड ५९ लाख ५१ हजार ४ सय १५ रुपैयाँ ४८ पैसा भएकोमा उपरोक्त आम्दानी र खर्चको अन्तरबाट कर बाहेक रु ९ लाख ६१ हजार ७ सय ६२ रुपैयाँ ३८ पैसा खुद बचत भएको काेषाध्यक्ष याेगीले जानकारी दिनुभयाे । साथै, लेखा सुपरीवेक्षण समितिका तर्फबाट आ.व. २०८१/८२ को लेखा प्रतिवेदन समिति संयोजक हिरालाल सुनारले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश तिमिल्सेना र वीरेन्द्रनगर नगरपालिकाका सहकारी शाखा प्रमुख दिपेन सुवेदी, जिल्ला बचत संघका अध्यक्ष भक्ति प्रसाद सापकोटा, नेफ्सकुन फिल्डकार्यालय सुर्खेत प्रमुख मदन चन्द, राष्ट्रिय सहकारी बैंक सुर्खेत शाखा प्रमुख सागर नाथ योगी, शेयरसदस्यहरु लगायतका व्यक्तिहरुकाे उपस्थित रहेकाे थियाे ।
सहकारीका सचिव यामराज गिरीले सञ्चालन गर्नुभएको २७ औं वार्षिक साधारणसभा वीरेन्द्रनगर–४, कालागाउँस्थित संस्थाको आफ्नै प्राङ्गणमा भव्य रूपमा सम्पन्न भयाे ।